kailali

Friday 7 September 2012

खाना खान घर आइपुग्छु भनेको दुई घण्टामा मृत्युको खबर


 नवलपरासीको नयाँ बेलानी गाविसस्थित अरुणखोलाका हिमाल सापकोटा र सूर्यप्रसाद पाण्डे सानैदेखिका मिल्ने साथी थिए। उनीहरुले व्यवसाय पनि एउटै गरेका थिए। दुबै जनाको फेन्सी पसल छ अरुणखोलामा। बुधबार बिहान पसलको सामान किन्नसंगै घरबाट विदा भएर काठमाडौँ हिँडेका दुई भाइ घर फर्कने क्रममा भोलिपल्ट धादिङमा सडक दुर्घटना परेको खबरले उनीहरुको परिवारमा शोकले छाएको छ।

घरबाट एउटै मोटरसाइकलमा हिंडेका उनीहरु काठमाडौँको पसलको किनेर ट्रान्सपोर्टको जिम्मा लगाएर घर फर्कने क्रममा दुर्घटना भएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस-९ ज्यामिरेघाटमा बिहीबार साँझ साढे ६ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा सापकोटाको घटनास्थलमै र पाण्डेको उपचारका क्रममा गजुरी असपतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमन्त थापाले जानकारी दिए।

घटना लगत्तै टेलिभिजनले दुर्घटनाको खबर प्रसारण गरेपछि परिवारले जानकारी पाएका थिए। स्थानीय स्तरमा सहयोगी र सामाजिक काममा सक्रिय उनीहरुको निधनले अरुणखोला बजार शोकमा डुबेको छ।

घरबाट आमाले लामो बाटो मोटरसाइकलमा नजाउ भन्दा नायारणगढमा राखेर बसमा जान्छौं भनेर हिंडेका थिए हिमालका काका तामेश्वर सापकोटाले गजुरीमा पोष्टमार्टमका क्रममा भने। ढाँटेर आएका हिमालको मोटरसाइकल दुर्घटनामै मृत्युको खबर पाएपछि उनकी आमाको शोकविह्वल छन्। एक छोरा र एक छोरी सहित फेन्सी व्यवसाय गर्दै आएका उनले श्रमिति कोपिलालाई घरमै खाना खान आइपुग्ने भनेर फोन गरेका थिए।

केही समय अघि फोन गरेर घर आउँदै गरेका श्रीमानलाई खाना तयार गर्दै गर्दा दुई घण्टा पछि दुर्घटना भएको खबर सुन्दा पत्याउनै सकिन अन्तिम पटक मुख हेर्न गजुरी आइपुगेकी कोपिलाले भनिन्। पसलको सामान किन्न हिंडेका श्रीमानको मृत्यु भएपछि छोरा छोरी र परिवारको चिन्ताले झन पिडामा परेनी उनी भाववेह्वल अवस्थामा छिन्।

३६ वर्षीय सुर्यप्रसाद पाण्डेले मोटरसाइकल चलाएका थिए। सापकोटा पछाडी बसेका थिए। ‘एक्कासी ज्यामिरेघाटको मोडमा ट्रकसंग ठोक्किएपछि पछाडि बसेका सापकोटालाई ट्रकको टायरले पेल्यो’, ट्राफिक प्रहरी प्रमुख थापाले भने। सापकोटको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइक चालक पाण्डेको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो।

पाण्डेको परिवारमा विहानसम्म घाइते अवस्थामा उपचार गराइरहेको खबर गरिएको मृतकका मामा केशवराज अधिकारीले जानकारी दिए। दुई छोरीका बाबु पाण्डे स्थानीय संघ संस्थामा सक्रिय सामाजिक कार्यकर्ता पनी थिए। उनको मृत्युको खबर विहान अवेर मात्र गरिएको अधिकारीले बताए। उनीहरु एकदमै मिल्ने साथि थिए, संगै खाने संगै हिंड्ने एक अर्कालाई सहयोग गर्ने पसल पनि संगै र व्यावसाय पनि एकै किसिमको गरेका थिए संगै अस्ताए मृतक सापकोटाका काका तामेश्वरले पोष्टमार्टम पछि गजुरीमा शव बुझ्ने क्रममा भने। मृतक दुवैको शव देवघाटमा अन्तिम संस्कारका निम्ति लगिएको छ।

चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ४ ख ४२२२ नम्बरको ट्रकले काठमाण्डौबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४९ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रक चालक र ट्रक इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment