kailali

Tuesday 4 September 2012


प्रधानमन्त्री बाबुराम भट्टराई ले राजनीतिक सहमति नभएसम्म राजीनामा नदिने प्रस्ट पारेका छन् । कसैको दबाबमा राजीनामा आवश्यक नभएको उनको तर्क छ ।

‘मैले छाडे झन् नराम्रो मान्छे आउँछ, झन् तपाईं हामीलाई दुःख दिन्छ’ एबीसी टेलिभिजनको पाचौँ वाषिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले उनले भने, ‘राम्रो हुन्छ भने छाड्ने हो, नभए किन छाड्ने ? त्यसैले त्यत्तिकै छाड्ने कुरा आउँदैन ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा उत्पात राम्रो काम नभए पनि जनतालाई घात भने नगरेको उल्लेख गरे । उनले आफू असफल नभएको दाबी गर्दै काम गर्न भने नसकेको स्वीकार गरे ।

नयाँ काम गर्न खोज्दा अदालतको आदेश र विरोधले परिबन्धमा पारेको उनको भनाइ थियो । ‘चार जनालाई सहिद बनाउने राजा त्रिभूवनको सालिक त सरकारले सहिदगेटबाट हटाउन सकेन,’ उनले भने, ‘स्थिति यस्तो छ, केही गर्न खोज्यो, कसैले रिट हाल्छ, अदालतको ‘स्टे अर्डर’ आउँछ, राज्य कति निरीह रहेछ भन्ने यसले प्रस्ट पार्छ ।’

प्रधानमन्त्रीले संक्रमणकालमा चाहेजस्तो काम गर्न नसकेकै कारण आफूलाई असफल भन्न नमिल्ने उनको भनाइ छ । ‘प्रचण्ड आए केही हुन्छ भन्थे, भएन, बाबुराम आए हुन्छ भन्ने आशा थियो, यसले पनि केही गरेन भन्न थालिएको छ,’ उनले भने, ‘व्यक्तिको कुरा होइन, राज्यसत्ताको सवाल छ, यहाँ व्यक्तिलेमात्र केही गर्न सक्ने होइन ।’

नेपाली मिडियाले बुझेनन्

प्रधानमन्त्रीले इरानमा भारतीय प्रधानमन्त्रीसँग भएको ‘साइडलाइन’ वार्तामा एक्लै भेटेको भनी नेपाली मिडियाले गलत प्रचार गरेको बताए । सुरक्षाका कारण साइडलाइनमा प्रधानमन्त्री र राष्ट्रप्रमुखलाईमात्रै राखिनेबेला नै छलफल हुने भएकाले त्यस्तोमा अरुसँगै नहुने उनको दाबी थियो ।

‘मैले अरु मुलुकका प्रधानमन्त्रीसँग पनि कुरा गरेँ,’ उनले भने, ‘निकट छिमेकीका नाताले भारतीय प्रधानमन्त्रीसँग केही बढी कुरा भएको हो तर एक्लै भेट्यो, राष्ट्रघाती काम भयो भन्ने मिडियामा आयो ।’

नेपाली मिडियामा आउने यस्ता समाचारले आफ्नो नै बेइज्यत हुने उनको भनाइ थियो ।

प्रचण्डसँगै कुरा मिल्छ

प्रधानमन्त्री भट्टराईले आफ्नो राजनीतिक लाइन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै मिल्ने उल्लेख गरे । ‘धोबिघाट बैठकमा किरणजीहरुसँग मुद्दामा नजिक भएकै हौँ,’ उनले भने, ‘तर लाइन बाइ लाइन किरणसँग मिल्ने भन्ने होइन, प्रचण्ड र मेरो लाइन नै नजिक छ, संघर्ष, शैली र नीतिमा हामीसँगै छौँ ।’


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment