kailali

Friday 7 September 2012

झटारो-ओलीको जवाफ


यतिखेर कमरेड खड्ग ओलीको दिल्ली यात्रा आश्चर्यजनक ढंगले बढिरहेको पाइन्छ । उहांको दौड देखेर कतिलाई त लाग्न सक्छ, उहां कतै नयांदिल्लीका लागि नेपालको आवासीय राजदूत त नियुक्त हुनुभएन ? अस्ति भर्खर उहां दिल्ली जानुभएको थियो । फर्किन पाएको छैन फेरि गइसक्नुभएको छ ।
त्यसो त सबैलाई थाहा छ उहां दिल्ली किन जानुभएको हो ? उहां नेपालको अर्को प्रधानमन्त्री बन्ने लाइनमा भएबाटै थाहा हुन्छ, उहांको दिल्ली दौडको मकसद के हो ? नेपालको प्रधानमन्त्री बन्ने हो भने दिल्लीमा एकपटक ननुहाई धरै छैन । अतः उहां प्रधानमन्त्रीका लागि नुहाउन दिल्ली जानुभएको हो । त्यो सबैलाई थाहा छ ।
तर, बीचमा कहांनिर अड्कियो थाहा भएन । उहां दिल्ली त धेरैपटक जानुभयो तर प्रधानमन्त्री भने अझै बन्नुभएको छैन । प्रधानमन्त्री बन्न पनि धेरै गाह्रो रहेछ । कतिपटक दिल्ली जांदा पनि प्रधानमन्त्री बन्न पाइएको छैन । मलाई त लाग्छ, प्रधानमन्त्री बन्न उहां दिल्ली धाइरहेको देखेर भारतको प्रधानमन्त्री नै दिक्क भइसक्यो होला । ओलीजी आइरहेको छ आइरहेको छ । तर, प्रधानमन्त्री बनाउन भने पाएको
 छैन । उहां लगातार दिल्ली आएको आयै भएको देखेर एक दिन भारतको प्रधानमन्त्रीले नै यस्तो प्रस्ताव राख्न बेर छैन– आप ऐसा किजिए, आप बहुत बार दिल्ली आए । अगर आपको जल्दी है तो कुछ टाइम के लिए आप इन्डिया के ही प्राइममिनिस्टर बन जाइए । मैं छोड डुंगा । चलेगा ?’
सांच्चै भारतीय प्रधानमन्त्रीले यस्तो प्रस्ताव हाल्यो भने हाम्रा कमरेड ओलीको जवाफचाहिं के हुन्छ होला हगि ?
एउटा कविता
कमरेड,
यतिखेर मेरो देश हराएको छ ।
बिप्पातिर हराएको हो
वा विदेशीले सञ्चालन गरेको
स्वदेशी विमानस्थलतिर हराएको हो ।
अतः म म हराएको देश माग्न आइरहेको छु
तर तपाईं भने मलाई
अध्यादेश दिइरहनुभएको छ ।
मासुको पूरै डल्लो त तपाईंले खाइहाल्नुभयो
म त बांकी बचेको शेष मागिरहेको छु
तर तपाईं भने अध्यादेश दिइरहनुभएको छ ।
कमरेड,
तपाईंसंग अध्यादेशै अध्यादेश मात्र छ कि
कुनै देश पनि छ ?

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment